एमाले कर्मचारीका पूर्व अध्यक्ष भोलाले जागिर त्यागे, केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराए

सोमबार, मंसिर २९, २०८२

नेपाल सरकारका शाखा अधिकृत भोलानाथ पोखरेलले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य हुन खुट्टा उचालेका छन्। एमाले राजनीतिको गच्छे अनुसारको स्वाद चाख्दै आएका उनले मुखैमा आएको नेपाल सरकारको उपसचिव त्यागेर एमाले केन्द्रीय सदस्य हुने रहर गरेका हुन्। 

शाखा अधिकृत बाट राजीनामा दिएर उनी केन्द्रीय सदस्य बन्ने गरि निर्वाचनको मैदानमा पुगेका हुन्। हुन त उनी पार्टी केन्द्रीय सदस्य हाराहारीकै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष चलाईसकेका कर्मचारी नेता हुन्। उनी आधिकारिक ट्रेड युनियनका पूर्वकार्यबाहक अध्यक्ष समेत हुन्। कर्मचारी नै भए पनि उनले एमालेका लागि उहिल्यै देखि उकेरा हाल्दै आएका थिए। पार्टीका उच्च तहका नेतालाई मात्र नभएर पार्टीका मूली भएका सम्मैलाई उनले साथ र सहयोग गर्दै आएका थिए। हक्की स्वभावका पोखरेलले कर्मचारीलाई एमालेमय बनाउन ठुलो मेहनत गरेको उनलाई चिन्ने बुझ्नेको भनाई छ। 

दुई दिनअघि मात्र सरकारी सेवाबाट राजीनामा दिएर खुलमखुल्ला पार्टी राजनीतिको अग्र भागमै होमिएका उनले श्रमिक खुला केन्द्रीय सदस्यमा उम्मेवारी दर्ता गराएका हुन्। अवकाश पाउन चार वर्ष र उपसचिवमा बढुवा हुन एक वर्ष अवधि बाँकी रहेका बेला उनले जागिर छोडेका हुन्। खोटांग स्थायी घर भएका पोखरेलले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएपछि उनको पक्षमा मत माग्ने जग्मगाएर लागि परेका छन्। 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्