रमेश लेखकको दाहिना बनेर चाँदी काटेका दुईभाई तिवारीलाई ठूलै खड्गो

आइतबार, मंसिर २८, २०८२

पूर्ववर्ती सरकारका गृहमन्त्री रमेश लेखकको दाहिना बनेर चाँदी काटेका दुई भाई तिवारी बन्धुले ठुलै खड्गोको सामना गर्नुपर्ने सम्भावना बढेको छ। भिजिट भिसा सेटिङ प्रकरणको सुईरो म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारी र अध्यागमन विभागको महानिर्देशकको भूमिकामा रहेका रामचन्द्र तिवारी अख्तियारको आँखामा परेका छन्। 

अख्तियारको छानबिन दायरामा रहेका म्याग्दीको सिडिओ बद्रीप्रसादलाई फिर्ता बोलाउने अन्तिम तयारी पूरा भएको छ। आजै उनले त्यहाँ बाट हिड्नु पर्ने सूचना पाउने छन्। गृह मन्त्रालयको बरण्डामा तिवारीलाई राखेर मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्य म्याग्दीको सिडिओ बनेर जाँदैछन्। मनाङ्ग, ताप्लेजुङ्गमा सिडिओ चलाईसकेका आचार्यलाई म्याग्दी पठाउने तयारी पूरा भएको गृहमन्त्रालय श्रोतले जनाउ दिएको छ। 

तत्कालीन गृहमन्त्री लेखकको निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरण सतहमा आएपछि म्याग्दीको सिडिओ भएर गएका थिए। उक्त प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिवारीलाई अनुसन्धानको दायरामा तानेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख तिर्थराज भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा तिवारीमाथि पनि  अनुसन्धान हुने अख्तियारले सार्वजनिक जानकारी दिएको छ। अख्तियारको अनुसन्धानको दायरामा रहेका तिवारीलाई म्याग्दीको सिडिओबाट फिर्ता बोलाउने गृहले तयारी थालेको हो। तिर्थले बद्रीको ब्याकअपमा भिजिट भिसालाई दुहुनो गाई नै बनाएका थिए। 

अख्तियारको छानबिन दायरामा रहेका रामचन्द्र तिवारी संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशकको भूमिकामा छन्। भिजिट भिसा सेटिङ प्रकरणमा गृहको शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रहेका रामचन्द्र अध्यागमनको डिजी कै जिम्मेवारीमा हुँदा गृह मन्त्रालय लाई नैतिक संकट परेको छ। रामचन्द्रको जिम्मेवारीको विषयमा पनि पुनर्विचार गर्न गृहमन्त्री ओमप्रकाश अर्यालमाथि दबाब रहेको छ। उनीमाथि पनि अख्तियारले कर्के नजर लगाएको छ।  पर्वतका तिवारी बन्धुलाई लेखक शासन फापे पनि अहिलेको सरकारका पालामा भने राहु र केतुले एकै पटक सप्को मार्ने देखिएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्