ओलीका पिएकी सचिव दिदीलाई ट्रष्टमा खाँदियो, आठ सचिवको अड्डासार

मंगलबार, मंसिर २३, २०८२

मंसीर २२ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ सचिवको अड्डासार गरेको छ । हिजै बढुवा भएका अर्का एक सचिवको पदस्थापन पनि गरेको छ ।

तोकादेशलाई प्राप्त जानकारी अनुसार लामो समय नेपाल ट्रष्टको कार्यालयमा थन्क्याईएका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा तानिएको छ । यसअघि पनि उनले खानेपानी मन्त्रालय चलाएका थिए। खानेपानीकी प्रमिलादेवी वज्राचार्यलाई नेपाल ट्रष्ट पठाईएको छ । प्रमिला एमाले अध्यक्ष केपी ओलीका पिए राजेशको ठूलो बुबाकी छोरी हुन् । उनी मुख्यसचिव बन्न पनि ज्यान दिएरै लागिपरेकी थिइन् । मुख्यसचिव बन्न नसकेकी उनी खानेपानीबाट कमलादीमा रहेको ट्रष्टको कार्यालय पुग्नु पर्ने भएको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। तथ्यांकका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ। 

यता,उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई निर्वाचन आयोगमा खटाइएको छ भने निर्वाचन कार्यालयका सचिव महादेव पन्थलाई अतिरिक्तमा सारिएको छ। उनका भाई रविलाल पन्थ अघिल्लो सचिव सरुवामा सामान्य प्रशासन मन्त्रालयबाट योजना आयोग पुर्याईएका छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ भने कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वनमा लगिएको छ । हिजै सचिव बढुवा भएका राजेन्द्र कुमार पौडेललाई कोशी प्रदेशको प्रमुख सचिव बनाएर विराटनगर पठाईएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्