एमाले महाधिवेशनका प्रतिनिधिलाई कसरी मिलाईदैछ खान्तेपिन्तेको सुविधा ?

सोमबार, मंसिर २२, २०८२

नेकपा (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ ।

सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ । कमिटीका सचिव आरसी लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताए ।

“यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन । तर, हामीले प्रतिनिधिलाई काठमाडौंमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ,” उनले भने, "अहिले हामीले प्रदेशगत रूपमा काठमाडौंमा बस्न समस्या हुने प्रतिनिधिको विवरण संकलन गरिरहेका छौँ ।”

महाधिवेशनमा करिब २ हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि ३ हजार र २ हजार मात्र तोकेको छ । महाधिवेशनका आयोजक प्रतिनिधिलाई ३ हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई २ हजार शुल्क तोकेको हो ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्