चुनाव हुन ८८ दिन बाँकी छँदा भारतीय विदेश मन्त्रालयका सचिव किन आए यता ?

आइतबार, मंसिर २१, २०८२

नेपालमा प्रतिनिधिसभाको निर्वाचन हुन ८८ दिन बाँकी छँदा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार आज आइतबार दिउँसो काठमाडौं ओर्लिएका छन्। 

लुम्बिनीमा आयोजना गरिने एक कार्यक्रममा सहभागी हुन र पछिल्लो नेपालको राजनीतिक अवस्थाका बारेमा बुझ्न उनी यता आएको बताईएको छ। 

आज नेपाल आएका उनी मंसिर २४ गते स्वदेश फर्कने छन् । उनी खासगरी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्बन्धमा बुझ्न र भारतीय लगानीमा सञ्चालित परियोजनाको अवस्थाबारे जानकारी लिन काठमाडौं आएका हुन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावार सोमबार लुम्बिनी जाने कार्यक्रम छ । त्यहाँ उनी एक सांस्कृतिक कार्यक्रम सहभागी हुने स्रोतले जनायो । 

उनी मंगलबार बिहान लुम्बिनीबाट काठमाडौं फर्किनेछन् । मंगलबार उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भेटमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र सहयोग सम्बन्धमा छलफल गर्ने जनाइएको छ । उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरी नेपाल–भारत द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछन् ।

उनले राजनीतिक दलका नेतालाई भेट्ने कार्यक्रमका बिषयमा परराष्ट्र मन्त्रालय वेखबर रहेको बुझिएको छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्