मधेशका मुख्यमन्त्रीलाई होटलमा दिएको नियुक्तिको जाँचपड्ताल आजै सकिने 

सोमबार, मंसिर १५, २०८२

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिटमा आज फैसला आउने सम्भावना रहेको छ ।

बिहीबारदेखि निरन्तर बहस भइरहेको रिटमा सोमबार समेत बहस हुँदैछ । आजको पेसीमा विपक्षीको तर्फबाट बहस बाँकी नै रहेकाले विपक्षीको तर्फबाट अधिवक्ताहरुले बहस टुंग्याएपछि रिटकर्ताको तर्फबाट जवाफी बहसपछि फैसला आउने सम्भावना रहेको छ ।

मधेस सरकारको गठन विरुद्ध ३ वटा रिट परेकोमा तीनवटै रिटलाई एकैसाथ बिहीबारदेखि न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बहस सुरु भएको थियो । बिहीबार बहस नसकेपछि शुक्रबार समेत बहस जारी थियो भने उक्त दिन सोमबारका लागि अर्को पेसी तोकिएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेपछि सो विरुद्ध तीनवटा रिट परेको थियो ।

तत्कालीन प्रदेश प्रमुखले २३ कातिकको मितिमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै कातिक २४ गते बिहानको समयमा महोत्तरीको बर्दिबास स्थित एक होटेलमा सपथग्रहण गराएपछि सोही दिन जनकपुरधाम उपमहानगरपालिका घर भएका रक्कीप्रसाद साह र सिरहाको सिरहा नगरपालिका घर भएका सुजित यादवले तथा अर्जुन साहले छुट्टा छुट्टै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ जिवितै हुँदाहुँदै संविधान उल्लंघन गरेर उपधारा ३ बमोजिम सरकार बनेकाले रिट दायर गरेका थिए । उक्त रिटमा २५ कातिकमा टेकप्रसाद ढुंगानाको एकल इजलासले यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

२५ कातिकमै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्ति बदरको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्