जेनजी युवाका लागि महेश बस्नेत आँखाको तारो, कारमा हाने रातो रंगको छारो 

आइतबार, मंसिर ७, २०८२

विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो रङ छ्यापेका छन् । युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा विराटनगरस्थित एयरपोर्ट लाइनको सडकमा बस्नेत सवार कारमा रातो रङ छ्यापिएको हो ।

प्रहरी भ्यान पछिपछि गुडिरहेको कारमा एक युवक दगुर्दै गएर रातो रङ छ्यापेको सार्वजनिक भिडिओमा देखिन्छ । लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि कुँवरले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियोमा देखिन्छ । कुँवरले महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो रङ फ्याँकेको बताएका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्