प्रचण्ड र माधव नेपालको बुई चड्न अशोक राई तम्तयार 

बिहीबार, मंसिर ४, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता हुने निश्चित जस्तै भएको छ। 

बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा दुवै पार्टीका वार्ता समितिबीच भएको बैठकमा सहमतिका लागि १० बुँदे मस्यौदा पत्र तयार पारिएको छ। यसअघि शनिबार र बुधबार बसेको वार्ता समितिको बैठकले दुई पार्टीबीचका सहमति र असहमतिका विषय पहिल्याएको थियो। 

आजको वार्तामा सहभागी नेकपा नेता प्रकाश ज्वालाले १० बुँदे सहमति पत्रको मस्यौदा तयार भएको र भोलि अन्तिम रुप दिइने बताए। ‘१० बुँदे प्रस्ताव तयार भएको छ,’ उनले भने, ‘त्यसमा भोलि राजेन्द्र श्रेष्ठ र म बसेर अन्तिमरुप दिने कुरा भएको छ।’

मस्यौदामा आज वार्ता समितिका सबै सदस्यले सुझाव दिएका थिए। ती सुझावलाई समेटेर भोलि अन्तिम रुप दिइने छ। त्यसपछि वार्ता समितिसहित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राई बसेर अन्तिम टुंगो लाइने छ। सम्भवतः भोलि नै उक्त सहमति पत्रमा हस्ताक्षर गरिने छ। 

दुई पार्टीबीच नेपाली विशेषताको समाजवादलाई आगामी क्रान्तिको कार्यदिशा बनाउने सहमति भएको छ। त्यस्तै मागर्दशक सिद्धान्तका रुपमा माक्सवाद र लेनिनवादलाई मान्न जसपा तयार भएको छ। 

त्यस्तै पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हुने कुरामा पनि दुवै पार्टी सहमत भएका छन्। 

अनि तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमतिलाई अनुमोदन गरिने छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्