देउवाले जाँतो घुमाएपछि शेखर-गगनले मल्खु खोज्न डाके बैठक

मंगलबार, मंसिर २, २०८२

नेपाली कांग्रेसमा १५औँ महाधिवेशन २१ फागुनको चुनावअघि कि पछि भन्ने टसल साम्य नभइरहेका बेला संस्थापन इतरका नेताहरू छलफलमा जुट्न लागेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरका नेताको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

संस्थापनले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नियमित र विशेष दुवै महाधिवेशन टार्न खोजेपछि विशेष महाधिवेशन पक्षधरबीच संवाद हुन लागेको हो । ‘शेखर कोइराला टिम, महामन्त्रीद्वयसहित विशेष महाधिवेशनको लागि हस्ताक्षर जुटाउने पक्षको बैठक बस्ने तय भएको छ । यसअघि शेखर दाइको सम्पर्क कार्यालयमा बैठक बोलाइएको थियो, तर केही ढिलो गरी बैठक बस्न लागेको छ’, शेखरनिकट कांग्रेस स्रोतले भन्यो, ‘ठाउँ परिवर्तन गरेर बस्ने तयारी भएको थियो । तर, अब त्यहीँ बस्छ ।’

बैठकमा महामन्त्रीद्वय नै सहभागी हुने बताइएको छ, तर महामन्त्री शर्मा सम्पर्कमा नआएको एक नेताले जानकारी दिए । ‘दुवै महामन्त्रीसहित शेखर कोइराला, उपसभापति धनराज गुरुङ, गुरुराज घिमिरे, देवराज चालिसेसहितका नेता संवादमा जुट्न लाग्नुभएको हो । तर, महामन्त्री शर्मासँग सम्पर्क भइरहेको छैन,’ महामन्त्रीनिकट स्रोतले भन्यो, ‘उहाँ सम्पर्कमा नआए पनि बैठक बस्ने तयारी भएको छ ।’

महामन्त्रीहरूले नमान्दा न्युट्रल ठाउँमा बैठक बस्ने गरी पनि संवादमा नेताहरू जुटेका छन् । संस्थापनले पेल्ने नीति लिएपछि कसरी अगाडि बढ्ने भनेर इतर पक्ष संवादमा जुट्न लागेको हो । विशेष महाधिवेशनको अभियान चलाइरहेका एक नेताले आफूहरूले नेताहरूलाई संवादमा जोड्न चाहेको बताए ।

महाधिवेशन चुनावअघि कि पछि भन्नेमा कांग्रेस एक महिनायता निर्णयमा पुग्न सकेको छैन । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनासम्म गरेको प्रयास पनि टुंगोमा पुग्न सकेको छैन । यसैले सिंगापुर पुगेका सभापति शेरबहादुर देउवालाई गत शुक्रबार नेपाल झिकाएर सहमति जुटाउने प्रयास भइरहेको नेताहरू बताउँछन् ।

सिंगापुरबाट फर्किएपछि महामन्त्री शर्माले देउवासँग आइतबार भेट गरेका छन् । भेटमा उनले नियमित वा विशेष महाधिवेशन नभए महामन्त्रीबाटै राजीनामा दिने चेतावनी दिएका थिए । नेता शेखर कोइराला पनि नियमित नभए विशेष महाधिवेशनको विकल्प नभएको पक्षमा उभिँदै आएका छन् । मंगलबार बिहान मात्रै पार्टीका युवा नेतासँगको छलफलमा उनले नियमित नभए केन्द्रीय समितिले नै विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका हुन् ।

देउवाले निवासमा आफूनिकटका नेताहरूसँग निरन्तर छलफल गरेका छन् । तर, अझै टुंगोमा पुग्ने स्थिति बनेको छैन । संस्थापन पक्षीय पदाधिकारीहरूले निर्वाचनपछि वैशाखमा मात्रै १५औँ महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । तर, इतर पक्ष अहिलेकै नेतृत्वलाई लिएर निर्वाचनमा गए पार्टीले हार ब्यहोर्नुपर्ने मतमा छन् । यसअघि महामन्त्री थापाले १६–१९ पुससम्म महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

तर, पार्टीमा सहमति नजुट्ने अवस्था आए २७–२९ मंसिरसम्म विशेष महाधिवेशन गर्नैपर्ने विकल्प अगाडि सारेका छन् । यसअघि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका छन् । तर, कांग्रेस संस्थापन नियमित र विशेष दुवै महाधिवेशनलाई घर्काउने पक्षमा देखिएको छ । सहमतिउन्मुख पनि नभएपछि केन्द्रीय समितिको बैठक सार्दैसार्दै ४ मंसिरको लागि धकेलिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्