सोसल मिडिया
युनिकोड
प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजकसमेत रहेका प्रसाईंले शान्ति व्यवस्था खलल पुग्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले सोमबार राति उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट मंगलबार म्याद थपको तयारी गरेको छ ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा ६ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । त्यस्तै हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताको दफा ६० को उपदफा (३) ले गरेको छ ।
पटक–पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईं चौथोपटक पक्राउ परेका हुन् । यसअघि पनि प्रसाईं शान्तिविरुद्धको कसुरमा पक्राउ परेको थिए । उनी पहिलोपटक २०८१ असोजमा पक्राउ परेका थिए । त्यो बेला पनि पनि प्रहरीले उनीविरुद्ध शान्तिविरुद्धको कसुरमै मुद्दा चलाएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले विदेशमा पैसा लगेको आरोप लगाएपछि प्रसाईं २०८१ मंसिरमा दोस्रोपटक पक्राउ परेका थिए । त्यो बेला प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
त्यसपछि गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन गराएको आरोपमा पक्राउ परेका थिए ।
सोमबार उनी चौथोपटक पक्राउ परेका हुन् । प्रसाईंले मंसिर ७ गतेदेखि देशभर प्रर्दशन चर्काउने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईं पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।