दल दर्ताका लागि राजनीतिक दललाई निर्वाचन आयोगको आह्वान

शुक्रबार, कात्तिक २८, २०८२

आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ।

आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गरिनुपर्नेछ। साथै निर्वाचन प्रयोजनका लागि दलले कात्तिक ३० भित्र दर्ता प्रमाणपत्र हासिल गरिसकेको हुनुपर्ने आयोगले स्पष्ट गरेको छ।

प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते तय गरिएको छ। फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ, जसमा एक जना राष्ट्रपतिद्वारा मनोनित सदस्य समेत छन्। बाँकी १८ रिक्त पद पूर्ति गर्न माघ ११ गते निर्वाचन हुनेछ।

प्रदेशगत रुपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २/२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २/२ जना सदस्यका लागि मतदान हुनेछ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरू मतदाता हुनेछन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्