Dashain Banner
Dashain Banner

अर्कै मन्त्रालयको गाडीमा सचिवज्यूको सवारी सत्र, गाडी फिर्ताको पत्रै झन् अलपत्र

शुक्रबार, वैशाख १४, २०८१

पदीय दायित्व र जिम्मेवारी मात्रै निर्वाह गरे स्थायी सरकारका मूलीहरू माथि प्रश्न उठाउन कसैलाई मन नलाग्न सक्थ्यो। तर जो अगुवा छन् उनैले गति छोडेर पारा देखाएपछि प्रश्न त अवश्य नै उठ्छ। सुबिधाका लागि पाएको सवारी साधनलाई माईतीले छोरीलाई दाईजो दिएको भन्दा चर्को गर्न थालेपछि प्रशासकको नियतको जाँच पड्ताल गर्नु उदेक लाग्दो कुरै हुँदैन। 

शहरी विकास मन्त्रालयमा सचिव भईखाएका सुरेश आचार्यले सचिवको सुबिधा अन्तर्गत प्रयोग गरेको गाडी त्यहाँ बाट दुई ठाउँमा सरुवा हुँदा समेत अघिल्लो मन्त्रालयलाई फिर्ता गरेका छैनन्। गाडी फिर्ताका लागि पत्र लेख्दा लेख्दा शहरी मन्त्रालय हत्तु भएको छ तर गाडीको नामोनिशान छैन। शहरी बाट सतर्कता केन्द्र हुँदै खानेपानी मन्त्रालयमा दोहोरिएर सचिव भएका सुरेश आचार्यको गाडीका सवालमा कानमा बतास लागेको छैन। 

सतर्कता केन्द्रले त सचिव आचार्यले दैनिक कति पाईला चाल्छन के-के गर्छन सबै हिसाब गरेर बसेको छ। सतर्कताका सचिव रामआधार साह र खानेपानी सचिवको एकले अर्काको खुट्टा देख्ने स्वभावले सिंगो सिंहदरबार परिचित नै छ।

पछिल्लो पटक फागुन ९ गते शहरीले खानेपानी मन्त्रालयलाई ४४३ नम्बरको चलानी राखेर बा ९३५२ नम्बरको टोयोटा कम्पनीको जिप फिर्ता गरिदिन भन्दै पत्र काट्यो। हाम्रो पहिलेको सचिव त्यहाँ भएको र हाम्रो गाडी पनि त्यहि रहेको भन्ने बुझिन आएको हुँदा हाम्रो गाडी हाम्रै सचिवलाई चाहियो भन्दा पनि आचार्यले गाडी फिर्ता गरेका छैनन्। गीत लेखेर एल्बम समेत निकालेका सचिवले तालुकदार मन्त्रालयलाई गाडी निकालेर कहिले फिर्ता गर्ने हुन् त्यो भने हेर्नै बाँकी छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्