Dashain Banner
Dashain Banner

मधेश प्रदेशमा एमालेले मुख्यमन्त्री पड्काएपछि रिसायो कांग्रेस

सोमबार, कात्तिक २४, २०८२

मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका हुन् ।

उनले यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

साथै उनले यसलाई न्यायालयले सच्याउने अपेक्षा पनि गरेका छन् । ‘संविधानको धारा १६८ (२) को सरकार बन्ने संभावना छँदै मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ,’ महामन्त्री शर्माले लेखेका छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १०३ बमोजिम एमाले नेता यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

अस्वस्थ भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान निवासबाट निस्किएकी भण्डारीले बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि चौतर्फी आलोचना भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्