अफताव आलको निधनले कांग्रेस पूरै शोकाकुल, जारी बैठक दुई दिन पर सारियो

आइतबार, कात्तिक २३, २०८२

पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ ।

आइतबार (आज) बिहान साढे ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक मंगलबार बिहान साढे ११ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मृगौलासम्बन्धी रोगबाट पीडित आलमको शनिबार बिहान निधन उपचारका क्रममा निधन भएको थियो । आलमको निधनपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्त्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने, कार्त्तिक २३ गते (आज) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र ३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको थियो । 

कांग्रेसमा पूर्वकेन्द्रीय सदस्यको निधन भएपछि तीन दिनसम्म शोक बनाउने परम्परा छ । 

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा राखिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्