सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । शुक्रबार काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यलाई राखेर कोइरालाले तीन विषयमा धारणा राखेका हुन् ।
केन्द्रीय सदस्य गोविन्दराज पोखरेलका अनुसार, कोइरालाले बाहिर उठिरहेका प्रश्नको पछि नलागी आफ्नो धारणा राख्न र त्यसअनुरूप अरूलाई पनि सहमत गराउन आग्रह गरेका छन् ।
“महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ । यो मैले जेनजी आन्दोलनपछि भन्न थालेको होइन, एक वर्ष अघिदेखि भन्दै आएको छु,” कोइरालाको भनाइ उद्धृत गर्दै पोखरेलले भने, “नयाँ नेतृत्व र नयाँ ऊर्जा लिएर निर्वाचनमा जानुपर्छ भन्नेमा म अडिग छु ।”
उनले दोस्रो विषय भने नियमित महाधिवेशन नगरेमा स्वतः विशेष महाधिवेशन हुने बताएका छन् । “यदि जारी केन्द्रीय समितिबाट नियमित महाधिवेशनको मिति घोषणा गरेर कार्यतालिका अघि बढाइएन भने विशेष महाधिवेशन स्वतः हुन्छ,” उनले भनेका छन्, “विशेष महाधिवेशन हस्ताक्षरकर्ताको भेलाबाट होइन, केन्द्रीय समितिकै निर्णयबाट हुन्छ । केन्द्रीय समितिले विशेष महाधिवेशनका कार्यविधिसहितमा काम गरेर आफैँ तयारी थाल्नुपर्ने हुन्छ ।”
कोइरालाले महाधिवेशन प्रतिनिधिले मागिसकेपछि उनीहरूको वैधानिक माग सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय समितिकै भएको पनि बताएका छन् ।
उनले आफूले जुनसुकै विचार राख्ने नेताहरूसँग पनि संवाद गर्ने घोषणा गरेका छन् । पार्टी एक बनाउन र अघि बढाउन हरेक नेताको विचार र समर्थन आवश्यक रहेको उनको भनाइ थियो ।
“अब म जुनसुकै विचार राख्ने वा जुनसुकै समूहमा रहेका सिनियर नेताहरू सबैसँग संवाद थाल्नेछु,” कोइरालाले भनेका छन्, “सिंगापुर गएपछि सभापति शेरबहादुर देउवासँग संवाद हुन सकेको छैन । अन्य साथीहरूसँग संवाद भइरहेकै छ ।”
यसअघि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता कोइराला नबोलिदिएका कारण स्वाभाविक विषयमा समेत संस्थापन बाधक बनिरहेको गुनासो गरेका थिए ।