नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

बिहीबार, कात्तिक २०, २०८२

विभिन्न वामपन्थी दल र समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

हिजो मात्रै एकता घोषणा गरेको नेकपाले आज आयोगमा औपचारिक रूपमा दर्ता निवेदन पेश गरेको हो।

साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १० वटा वाम दल र समूहहरूको एकताबाट यो नयाँ पार्टी गठन गरिएको हो। नवगठित पार्टीले आफ्नो चुनाव चिह्न पाँचकुने तारा रहने निर्णय गरेको छ।

पार्टीले दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र समेत संलग्न गर्दै दर्ता निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन चाहने दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्