पार्टी एकता समझदारी अनुमोदन गर्न प्रचण्डले डाके बैठक

मंगलबार, कात्तिक १८, २०८२

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्दैछ।

८ दलसँग भएको पार्टी एकता समझदारी अनुमोदन गर्न आज बैठक बस्न लागेको जनाइएको छ। एकीकृत समाजवादीसहितका दलहरूसँग आइतबार भएको १८ बुँदे सहमति पत्रलाई आजको बैठकबाट औपचारिक रूपमा स्वीकृति दिने तयारी गरेको हो।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका थिए। सहमति पत्रमा नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंह पनि हस्ताक्षरकर्ता रहेका छन्।

सहमति अनुसार एकीकृत दलको चुनाव चिन्ह पाँच कुने तारा रहनेछ भने नयाँ दलको नाम भने अझै टुंगो लागेको छैन। पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति गरिएको छ।

उनीहरूले बुधबार औपचारिक रूपमा एकता घोषणा गर्ने र बिहीबार एकीकृत पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बस्ने तयारी पनि गरेका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्