आगामी पुस मसान्तभित्र १५औं महाधिवेशन गर्नुपर्ने कांग्रेस नेता शेखरको निष्कर्ष

शुक्रबार, कात्तिक १४, २०८२

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले आगामी पुस मसान्तभित्र १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा आज बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको केन्द्रीय समिति बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ ।

कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।

कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्