सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन् । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन उनले मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्न ओलीको राजीनामा आवश्यक भएको बताइन् ।
अहिलेको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भनाइ उनको छ । कांग्रेसमा त्यो सुरु भएको भन्दै बैठकमा तिम्सिनाले भनिन्, “अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ ।”
उनले ओली अध्यक्ष भएपछि ११ वर्षको अवधिमा वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो ? भन्ने हेर्नुपर्ने बताइन् ।
“नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो । तर, त्यसलाई हामीले कस्ताकस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्यौँ ? एक पल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो । मास फ्रस्ट्रेसन छ र थियो । स्वीकारौँ,” उनले भनिन् ।
तिम्सिनाले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको नोक्सानीको जिम्मेवारी कसले लिने भनेर पनि प्रश्न गरिन् ।
“अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयो । खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवल्दारले लिने हो कि आईजीपीलाई भागिदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?,” उनले ओलीलाई सोधिन् ।