रामबाघ महलमा एमाले केन्द्रीय कमिटीको बैठक

बुधबार, असोज २९, २०८२

जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ ।
 
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको  तोडफोड आदि विषय समेटिनेछन् । 

अलोकतान्त्रिक अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसद् विघठन र यसका असरका बारेमा पनि प्रतिवेदन केन्द्रित रहनेछ । 

प्रतिवेदनमा सरकारले ‘नगर्ने निर्वाचनको हौवा’ पिटाएको, सरकारले दलहरूसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ । 

अध्यक्षको प्रतिवेदनमा बोल्न केन्द्रीय सदस्यलाई तीन मिनेट समय तोकिएको कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए । प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतमका अनुसार बैठकले आगामी मंसिरमा हुने ११औँ महाधिवेशनको मिति र स्थान तोक्ने छ ।

लोकतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्