सामाजिक सञ्चालमा आतङ्क मच्चिएको भन्दै सञ्चार मन्त्री खरेलले कसलाई गुहारे ?

आइतबार, असोज २६, २०८२

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए ।

‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र सुचीकृत भएका सञ्चारमाध्यमहरूको हामीले जिम्मेवारी लिनुपर्छ । व्यक्तिगत हकमा भने अनुसन्धान गर्ने राज्य अन्य निकाय छन्, तिनले हेर्छन्,’ उनले भने, ‘विभिन्न सञ्चारमाध्यमहरू करिब २० हजारको हाराहारीमा छन् कि भनेर छलफल गरिरहेका छन् । हामीले कसरी अनुगमन, नियमन गर्ने ? र कारबाहीको दायरासम्म ल्याउने भन्ने बारेमा प्रेस काउन्सिल गम्भीर बन्नुपर्छ भन्ने लाग्छ ।’

उनले काउन्सिल स्वायत्त निकाय भएको हुँदा ‘कसैलाई काखा र कसैलाई पाखा’ नगर्न समेत आग्रह गरे । उनले ‘काउन्सिललाई कस्तो जनशक्ति चाहिन्छ, कस्तो स्रोतसाधन चाहिन्छ’ भन्नेबारे एक हप्ताभित्र विवरण लिएर आउनसमेत निर्देशन दिए ।

‘यो निर्वाचनका लागि बनेको सरकार हो । तर, म काउन्सिल बलियो बन्नुपर्छ भन्ने मान्यता राख्छु । आवश्यक थप बजेटका लागि अर्थमन्त्रीसँग समेत छलफल गर्नेछु’, उनले भने ।
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्