सोसल मिडिया
युनिकोड
नेकपा (माले)का महासचिव सीपी मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्ति मिलेर गएमात्रै देश बच्न सक्ने बताएका छन् । बीपी कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा मैनालीले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्ने २०३३ सालको बीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए ।
उनले ०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरूको दबाबले गर्दा संविधानसभाबाट नै राजसंस्था हटाइएको बताए । देशलाई अहिलेको ठाउँमा ल्याउने काम राजनीतिक दलहरूले नै गरेको भन्दै शान्ति क्षेत्रको प्रस्तावलाई पनि राजनीतिक दलहरूले नै खारेज गरेको उनको भनाइ छ ।
"बीपीको २०३३ सालका विचारहरू राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्ने कुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर, पछि विदेशीहरूको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरू नै हौँ । शान्ति क्षेत्रको प्रस्तावलाई हामी दलहरूले नै हो खारेज गरेको," उनले भने ।
महासचिव मैनालीले भारत नेपालका लागि धेरै अप्ठेरो छिमेकी भएको टिप्पणी पनि गरे । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनेर नमानेको उनको जिकिर छ ।