खरानीको टीका लगाउँदै ओली पत्नी राधिकाले खरानी भएका दुई घरको फन्को लगाईन्

आइतबार, असोज ५, २०८२

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेकी छन् ।

शनिबार शाक्यले नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोडेर जाने विचार भए पनि अब खरानी छोडेर जानुपरेको बताइन् ।

जलेका पुस्तकका खरानीको टीका लगाउँदै आफूले यहाँ पुस्तकहरू जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वस्तुहरू समेत संग्रहालयको रूपमा सजाएर राखिएको बताइन् ।

‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लागेको थियो, उनले भनिन्, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना, कम्बोडिया,भारत, भियतनाम,जापानलगायत देशका प्रधानमन्त्रीहरूले दिएका अमूल्य सामानहरू दराजहरूमा थिए।’

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के-के सामानहरू थिए भनेर सम्झना पनि गरिन्। ‘यति मेरो पसिना र श्रम परेको छ नि’, भावुक हुँदै शाक्यले भनिन्, ‘बालुवाटार हुँदा पनि म साता-दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें।’

शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताइन्।जेनजी आन्दोलनका बालकोटस्थित अध्यक्ष ओलीका दुवै घर खरानी भएर जलेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्