विराटनगरस्थित कोइराला निवास खरानी भएपछि शेखर यसरी बने भावुक

शनिबार, असोज ४, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भएको आगजनीलाई ऐतिहासिक धरोहरमाथिको आक्रमण भनेका छन्। 

शनिबार जलेका घरहरूको अवलोकन गर्दै उनले लोकतान्त्रिक आन्दोलन पुनः त्यहीँबाटै अघि बढाउने घोषणा पनि गरेका छन्। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको हो। 

नेता कोइरालाले हालै भएको संसद् विघटन संविधानसम्मत नदेखिए पनि परिस्थितिजन्य रूपमा देशलाई थप संकटबाट जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल’ भएको बताए।

कोइरालाले अब देशलाई निष्पक्ष चुनावमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताए।

‘यो सरकारको अर्को विकल्प छैन, निर्वाचनमै केन्द्रित हुनुपर्छ’, उनले भने। उनले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कार्यकर्तालाई जुट्न आह्वान पनि गरे।

जेनजी आन्दोलन हुनुमा राजनीतिक दल र सरकारको कमजोरी रहेको स्वीकार गर्दै कोइरालाले भ्रष्टाचार र कुशासनविरुद्ध उठेका आवाजलाई समयमै सम्बोधन नगर्दा आजको अवस्था आएको बताए। 

यस क्रममा उनले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरे। नेता कोइरालाले कांग्रेसमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

‘युवाहरूलाई स्थान दिनुपर्ने कुरा स्वीकार्य छ, तर उनीहरूको वास्तविक आकांक्षा बुझेर मात्रै अघि बढ्नुपर्छ,’ उनले भने। आफ्नो निवासमा भएको आगजनी स्मरण गर्दै कोइराला भावुक बने।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्