सरकारी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने नेपाली नभएको प्रधानमन्त्रीको दाबी

आइतबार, भदौ २९, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका नाममा सरकारी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी सामान्य हिसाबले नभएको बताएकी छन् ।

आज सिंहदरबारमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले छानीछानी सरकारी सम्पत्तिमा पुर्‍याइएको क्षति सामान्य हिसाबले नभएर षडयन्त्रपूर्वक भएको हुन सक्ने बताएकी हुन् ।

उनले सरकारी सम्पत्तिमाथि भएको तोडफोड देखेर लाज लागेको उल्लेख गर्दै घटना घटाउनेहरूलाई नेपाली भन्न पनि नसकिने बताइन् ।

‘अत्यन्त आवश्यक संस्थाहरू देशको जसले यो देशको शासन चलाएको छ ती भवनहरू र ती मिसिल कागजहरू नष्ट भयो । यो देखेर मलाई त लाज नै लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला तोडफोड होला त्यो अर्कै कुरा तर यो घटना त नेपालमा पहिलोपटक भएको हो । यो सामान्य हिसाबले भएको होइन, षडयन्त्रपूर्वक भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने घोषणा गरिन् ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्