सोसल मिडिया
युनिकोड
देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन-जी पुस्ताले आज काठमाडौंमा प्रदर्शन सुरू गरेको छ।
उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
जेन-जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ। आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको उल्लेख गरिएको छ। यस्तै उनिहरुले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न भनेका छन्।
यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन्। आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनीहरूले चेतावनी दिएका छन्।
जेन-जीको प्रदर्शनलाई राजनीति दलका नेता, कलाकार लगायतले समर्थन जनाएका छन्। रास्वपाका सभापति रवि लामिछानेले नख्खुजेलबाटै समर्थनको सन्देश जारी गरेका छन्। नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला र गगन थापाले जेन्जीको प्रदर्शनमा समर्थन जनाएका छन्। काठमाडौं महानगरका मेयर बालेन साह र कुलमान घिसिङले पनि ऐक्यवद्धता जनाएका छन्।
यसैबिच जेन-जीको प्रदर्शनलाई लिएर काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले प्रदर्शनमा हुन सक्ने अवान्छीत गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएकोे बताए।