सोसल मिडिया
युनिकोड
नेपाल सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद सकिएको छ । बुधबार मध्यरातिदेखि म्याद सकिँदा पनि सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरूलाई आजदेखि बन्द गर्ने सरकारको तयारी छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालका अनुसार आज दिउँसोदेखि सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुँदै जाने बताए । 'आज दिउँसो केहि निर्णय हुन्छ नै' पौड्यालले भने 'सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू क्रमश: बन्द हुँदै जानेछन् ।'
उनका अनुसार कुन कुन सामाजिक सञ्जाल बन्द कसरी गर्ने भन्नेबारे मन्त्रीस्तरीय निर्णय हुनेछ । मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनमा आउने उनले दाबी गरे ।
हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भएका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् ।
नेपालमा सबैभन्दा बढी चल्ने सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युबलगायत सूचीकरण हुन आएका छैनन् ।