सामान्य मन्त्री भगवती बैठक छोडेर हिडेपछि निजामती विधेयकमा काठ पस्यो

सोमबार, भदौ १६, २०८२

निजामती विधेयकको छलफल चलिरहेको बेलामा समय मागेर सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने समिति बैठकबाट बाहिरिएकी छिन् ।

सोमबार विधेयकमा छलफल चलिरहँदा मन्त्री न्यौपानेले समय मागेर बाहिरिएकी हुन् । सभापति तुलसीकुमारी दाहालले पनि उनले मागेको एकछिन् समय दिइन् । सभापति दाहालले सहमतिका लागि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्ने वा  माननीयहरूले सरकारको प्रस्ताव मान्नुपर्ने बताइन् ।  

समय मागेर सङ्घीय मामिलामन्त्री भगवती न्यौपाने बाहिरिएपछि मंगलबार सम्मका लागि बैठकै स्थगित गरिएको छ ।

निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा कुरा मिलेको छैन । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको नयाँ प्रस्तावमा समर्थन जनाएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् ।

प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्