सोसल मिडिया
युनिकोड
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बोलाएकी हुन्।
पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेण्डासहित बैठक बोलाइएको अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ र प्रदेशका सांसदहरूलाई निमन्त्रणा गरिएको छ। तर, बैठकमा अध्यक्ष रञ्जिता पक्षका सदस्यहरूमात्र सहभागी हुने स्रोतले बताएको छ। बैठकमा पार्टीका संरक्षक रेशम चौधरीको पनि उपस्थिति नरहने स्रोतको दाबी छ।
'बैठकमा पार्टी संरक्षक रेशम चौधरीको उपस्थिति हुने छैन। पार्टी जन्मदाता बिनै अध्यक्ष श्रेष्ठले बैठक बस्न लागेकी हुन्,' स्रोतले भन्यो। रेशम चौधरी पक्षका कोही सदस्य पनि बैठकमा सहभागी नहुने बताइएको छ। संस्थापक सदस्यहरूमध्ये बहुमत सदस्य रेशम चौधरीको पक्षमा रहेको स्रोतको दाबी छ। हुनतः यसअघि पनि रेशम पक्षका बहुमत सदस्यहरुको बैठकले रञ्जितालाई कारबाही गरेको थियो।
दुई चल्ने बैठकले करिब एक दर्जन व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने र विधान संशोधनलगायतका विषय समेटेर निर्वाचन आयोगमा अधावधिकका लागि कागजात पेस गर्ने रञ्जिता पक्षको तयारी छ।