ओली चीन गएकै दिन झापा पुगेर राजेन्द्र लिङ्देनले दिए ओलीलाई यस्तो च्यालेन्ज

शनिबार, भदौ १४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग २०८४ सालको निर्वाचनमा एउटै क्षेत्रबाट चुनाव लड्ने चुनौती दिएका छन्।

शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन घोषणा गर्न र सोही निर्वाचनमा आफू उनीसँगै लड्न तयार रहेको बताएका हुन्।

२०७९ सालको संसदीय निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरी विजय भएका थिए।

तत्कालीन समयमा नेकपा एमाले र लिङ्देनबीच चुनावी तालमेल भएको थियो, जसअनुसार एमालेले झापा क्षेत्र नम्बर ३ मा लिङ्देनलाई समर्थन गरेको थियो। यस पटक भने उनले प्रधानमन्त्री ओलीको गृहजिल्लामै पुगेर चुनौती दिएका छन्।

ओली २०७४ र २०७९ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट लगातार निर्वाचित हुँदै आएका छन्। लिङ्देनले आफू झापा ५ बाट चुनाव लड्न सक्ने संकेत गर्दै ओलीको चुनौती स्वीकार्न तयार रहेको बताए।

उनले ‘अस्ति प्रधानमन्त्रीजीले राजेन्द्र लिङ्देन झापामा कहाँबाट चुनाव लड्दोरहेछ भनेर भन्नुभएछ। जनताले चाहेको खण्डमा झापा ५ टाढा छैन। त्यहीँबाट लड्नसक्छु’ भन्दै प्रधानमन्त्रीलाई प्रत्युत्तर दिएका थिए।

उनले थपे, ‘त्यस्तो भनेर मलाई थर्काएको होला तर म उहाँकै प्रतिस्पर्धी भएर चुनाव लड्ने हिम्मत राख्छु।’

राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए। उनले राजनीतिमा आफू आफ्नै जीवनकालमा परिवर्तन ल्याउन होमिएको बताउँदै जहाँ पनि कमिसनको खेल भइरहेकोमा चिन्ता व्यक्त गरे।
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्