सोसल मिडिया
युनिकोड
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले पार्टीको अध्यक्ष बनाउँछु भनेर अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सताएको आरोप लगाएका छन्।
शुक्रबार एकीकृत समाजवादीको काठमाडौँ क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सुरुमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता दिएर अहिले खोसेको दाबी गरेका हुन्।
भण्डारीलाई एमाले अध्यक्ष बनाउँछु भनेर ओलीले ६ महिनाअघि मात्र गरेको भाषण आफ्नो मोबाइलमा सुरक्षित रहेको दाबी पनि उनले गरे।
‘जहाँसम्म विद्या भण्डारीको कुरा आको छ। विद्या भण्डारीजीलाई सदस्य कसले बनायो? तपाईंको सदस्यता कायम छ भनेर कसले वचन दियो? भोलि तपाईं भए अध्यक्ष पनि हुन सक्नुहुन्छ एमालेको भनेर कसले भन्यो? प्रमाण चाहिन्छ’, गोजीबाट मोबाइल झिक्दै अध्यक्ष नेपालले भने, ‘अहिले सुनाइदिऊँ तपाईंहरूलाई मेरो मोबाइलमा छ। आजभन्दा ६ महिना पहिला भाषण गरेको, कसले भाषण गरेको, नामै नभनिहालौँ। पुगिहाल्छ फेरि कानमा।’
उनले अगाडि भने, ‘त्यसो हुनाले यति मात्रै बुझ्नुस्। विद्या भण्डारीजी तपाईं अगाडि बढ्नुस्। तपाईं एमालेको अध्यक्ष किन नहुने भन्ने। अहिले अध्यक्षको निम्ति हेर्ने? एकै खुट्टा भाँच्ने हो कि? आँखै निकाल्दिने हो, त्यस्तो ढंगले विचरा विद्या भण्डारीलाई सताउन पाइन्छ अहिले? धेरै साथ दियो भने पनि नोक्सान विद्याजीलाई होला, मलाई धेरै बोल्न नलगाउनुस्।’