सोसल मिडिया
युनिकोड
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनको विषय नेपाली कांग्रेसले आज टुंगो लगाउने भएको छ ।
आज बिहान बस्ने कांग्रेस पदाधिकारी बैठकले समितिको सभापति कसलाई बनाउने भन्ने टुंगो लगाउने कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
कांग्रेसको आग्रहका कारण समितिको निर्वाचनको सूचना प्रकाशन गर्न नसकिएको सभामुखको सचिवालयले प्रष्ट पारेको छ । यसका लागि सभामुखले आइतबार दिनभर प्रयास गरेको बताइएको छ ।
समिति सभापतिमा अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुईपटक छलफल गरेका थिए । “तर, आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन प्रमुख सचेतकले आग्रह गर्नुभएको थियो,” सभामुखको सचिवालयले भनेको छ, “आज बिहान कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाउने उहाँको भनाइ छ ।”
सोमबार (आज) बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताएका छन् । विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्थाको बैठक बस्न नसकेको गलत नजिर दोहोर्याउन नहुने सभामुखले बताएको उनको सचिवालयले बताएको छ ।
निजामति विधेयकको कुलिंग काण्डमा रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबिहीन छ । बुझिए अनुसार कांग्रेसका सांसद हृदयराम थानीको सम्भावना उच्च छ।