दलाल र बिचौलियासँगको उठबसले हानी पुर्याएको प्रचण्डको ठहर 

आइतबार, भदौ ८, २०८२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्न उत्पादन सङ्घर्ष मुख्य आधार हुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले उत्पादनमा केन्द्रित नभई समाजवाद सम्भव नहुने उल्लेख गरे ।

प्रचण्डले पार्टीका केही नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फस्दा जनताको भरोसा कमजोर भएको बताए । उनले यस्ता प्रवृत्ति तत्काल सुधार्न र नेताहरूको सोच र शैलीमा आमूल परिवर्तन आवश्यक रहेको जोड दिए । हेटौँडा महाधिवेशनको “युद्ध होइन, उत्पादन सङ्घर्ष” भन्ने निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै उनले जनतासँग जोडिन र उत्पादनलाई  प्राथमिकता दिन अभियान चलाउने बताए । 

कृषि, उद्योग, जडीबुटी र पर्यटनमा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको आधार हुने उल्लेख गर्दै प्रचण्डले सहकारी आन्दोलनलाई जनमुखी र समाजवादी बनाउनुपर्नेमा जोड दिए । सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध सुशासन र समृद्धिको लडाइँ लडेको स्मरण गर्दै उनले यस्ता प्रवृत्तिसँग माओवादी केन्द्रको सहअस्तित्व असम्भव रहेको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्