देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको शेखरको ठहर

शुक्रबार, भदौ ६, २०८२

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । 

काठमाडौँमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताए । 

उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । सांसद कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताए । 

सांसद कोइरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए । शिक्षाले नै विश्वलाई चिनाउन सक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्