सोसल मिडिया
युनिकोड
सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध न्यायपालिकामा हस्तक्षेप र मुद्दामा प्रभाव पार्न खोजेको भन्दै अधिवक्ता रमेशबहादुर रावलले न्याय परिषद्मा छानबिनको माग गर्दै निवेदन दर्ता गरेका छन् ।
रुपन्देही जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा प्रतिवादी रवि लामिछानेले सर्वोच्च अदालतमा गैरसम्बन्धित निवेदन दर्ता गराई अदालतलाई भ्रममा पार्न खोजेको निवेदनमा दाबी गरिएको छ । मुद्दा अझै टुंगोमा नपुगेको अवस्थामा केही प्रतिवादीहरू मात्र दोषी ठहर हुने र बाँकी निर्दोष हुने दाबी गर्दै थुनामुक्तिको बाटो खोल्ने प्रयास भएको निवेदनमा जनाइएको छ ।
अधिवक्ता रावलले दायर गरेको निवेदनमा भनिएको छ, ‘लामिछाने पक्षले जनमत सिर्जना गर्नका लागि सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोग गर्दै अदालतमा दबाब सिर्जना गर्ने प्रयास गरिरहेको छ ।’ साथै, रुपन्देही जिल्ला अदालतमा कार्यरत तीन जना न्यायाधीशहरूलाई लक्षित गरी थुनामुक्तिको आदेश इजलास बाहिर तयार गरिएको भन्दै गम्भीर आरोप लगाइएको छ ।