नेपाल र चीन बीचको कुटनीतिक सम्बन्धको व्यापक चर्चा

सोमबार, साउन १९, २०८२

नेपाल र चीन बीचको कुटनीतिक सम्बन्धका विषयमा एक कार्यक्रममा घनीभूत चर्चा गरिएको छ ।

विज्ञहरूले छिमेकी मुलुक चीनबाट नेपालले  राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्ने बताएका छन्। 

नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेण्डस् अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, कुटनीतिज्ञ डा. भेषराज घिमिरे, साहित्यकार नन्दु उप्रेती, फ्रेण्डस् अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीलगायतले द्विपक्षीय सम्बन्ध र चासोका विषयमा धारणा राखेका हुन्। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले चीन र नेपालको योजनाबद्ध विकासको कार्यक्रम सँगै शुरु भए पनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निकै पछि परेको बताए। अब आफ्नो मु्ख्य मुद्दा विकासलाई बनाउनुपर्ने र त्यसका लागि प्राविधिक तथा आर्थिक सहयोग चीनबाट लिन सक्नुपर्ने उनको भनाइ छ।

प्राडा भेषराज घिमिरेले चीनसँग आर्थिक कुटनीति बलियो पारेर नेपालले फाइदा उठाउनुपर्ने धारणा राखे।  उनले नेपालको समृद्धिमा चीनले सघाउँछु भन्दा पनि यहाँको  सरकार र राजनीतिक दलले चासो नदिनु विडम्बनापूर्ण भएको बताए । 

कार्यक्रममा साहित्यकार नन्दु उप्रेतीले हालै आफूले गरेको चीन भ्रमणको अनुभव सुनाउँदै त्यहाँको जीवनशैली र परिवर्तित सामाजिक अवस्थाबारे जानकारी गराए। क्लाउडका अध्यक्ष उप्रेतीले नेपाल-चीन सम्बन्ध अटुट, विश्वसनिय र चिरस्थायी राख्न एक अर्काको  संवेदनशीलता र चासोमा गम्भीर हुनुपर्ने धारणा राखे ।

1754277605397-1754278314.jpg

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्