सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।
‘‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’’ उनले भने । यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।
अर्को प्रसंगमा उनले एकीकृत समाजवादी र माओवादीबीच एकीकरण नभएर सहकार्य तथा मोर्चाको विषयमा मात्र छलफल भएको बताए ।
पार्टीका अर्का नेता झलनाथ खनालले एक टेलिभिजन कार्यक्रममा एमाले विभाजन गराएर गल्ती भएको अभिव्यक्ति दिएका थिए । यस विषयमा अध्यक्ष नेपालले पार्टीको विपक्षमा गएर अभिव्यक्ति दिन नहुने बताए ।