प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने 

बुधबार, साउन १४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)बारे सम्बोधन गर्ने भएका छन् । 

आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:१५ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्