माओवादीले पनि राम्रो गर्छन भन्ने बनाउनुपर्नेमा प्रचण्डले दिए जोड 

मंगलबार, साउन १३, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन्।

माओवादीको समाज कल्याण विभागद्वारा मंगलबार काठमाडौँमा आयोजित  ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ-संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै अध्यक्ष उनले सामाजिक संघसंस्थाको भूमिकाले नै समाजवादको भूमिका निर्धारण गर्ने बताए।

‘नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,’ प्रचण्डले भने।

माओवादीले नेतृत्व गर्ने संस्थामा फरकपन देखाएर जनतामा स्थापित हुनुपर्नेमा उनले जोड समेत दिए। ‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ,’ प्रचण्डले भने।

सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै उनले ठूला र परम्परावादी दलहरूको सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्ति देखिएको टिप्पणी गरे।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्