ओलीले क्याबिनेटमा नयाँ अनुहार देखाउने, ओलीको मन राख्न देउवाले पनि डाके बैठक

बिहीबार, साउन ८, २०८२

तेश्रो पटक प्रधानमन्त्री भएर शासन सत्ता चलाईरहेका एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गर्न चम्किएका छन्। 

पार्टीको बैठक सकेर केही फुर्सदिलो बनेका ओलीले साउन ८ गते दिनभर बालुवाटारमै बसेर आन्तरिक गृहकार्यमा जुटेको बालुवाटार श्रोतको दाबी छ। 

प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धनका साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेका छन् । सरकार गठनको एक वर्ष नपुग्दै केही मन्त्रीहरू ‘घुस डिल’ प्रकरणमा मुछिएपछि ओलीले देउवासँग केही मन्त्रीहरू हटाउने प्रस्ताव राखेका थिए ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घुससम्बन्धी अडियो सार्वजनिक भइसकेको छ। सोही आधारमा ओलीले मन्त्री फेर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

तर देउवाले उक्त प्रस्तावमा असहमति जनाएका छन् । स्रोतका अनुसार उनले भनेका छन्, ‘तपाईं आफ्ना पार्टीका मन्त्री फेर्नुस्, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुने छैनन् ।’ देउवाले आफैं प्रधानमन्त्री बन्ने अवस्था आएमा मात्र मन्त्री हेरफेर गर्ने बताएका छन् ।

यता, कांग्रेसभित्र भने मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ। मंगलबार सभापति देउवासँग भेटेका पाँचजना पूर्वपदाधिकारीले असक्षम मन्त्रीहरू फिर्ता बोलाउन सुझाव दिएका थिए ।

तर देउवा अहिले नै मन्त्री फेर्दा आकांक्षीहरूबीच विवाद चर्किने, गुट सम्हाल्न गाह्रो पर्ने भन्दै अनिच्छुक देखिएका छन् ।

प्रधानमन्त्रीसँगको संवादपछि देउवाले शुक्रबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक समीकरणबारे छलफल हुनेछ।

यता, एमालेभित्र पनि काम गर्न नसक्ने र विवादमा तानिएका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने आवाज चर्किएको छ । प्रधानमन्त्री ओली त्यसैको तयारीमा जुटिरहेका छन् । एमालेबाट मन्त्री भएका तीन जना बाहेक अरू सबै मन्त्री फेर्ने मुडमा ओली पुगेका हुन्। 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्