पूर्वभूमि मन्त्री रञ्जितालाई अख्तियारले बकायो, 'भ्वाइस' परिक्षण नतिजापछि थप एक्सन

बुधबार, साउन ७, २०८२

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बकाएको छ। कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी मन्त्री श्रेष्ठलाई अख्तियारले चर्को केरकार गरेको हो। 

घुस प्रकरणपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएपछि श्रेष्ठ अख्तियारको कठघरामा पुगेकी हुन्।  अख्तियार स्रोतका अनुसार श्रेष्ठको 'भ्वाइस टेस्ट' पनि लिईएको छ।  

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए । अब राज्निताको आवाज परिक्षणको नतिजापछि अख्तियारले थप एक्सन लिने भएको हो। 
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्