सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयकलाई फास्टट्र्याकबाट पारित गर्ने नेकपा (एमाले) को प्रस्तावप्रति कडा आपत्ति जनाएका छन्।
भ्रष्टाचार प्रकरणमा मुछिएका मन्त्री पदमा बहाल रहँदै विधेयक फास्टट्र्याकबाट पास गर्न खोज्नुले शङ्का उत्पन्न भएको उनको भनाइ छ। हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी हुनुहुन्छ, जो पोखरा जग्गा (लिचिबारी) घुस प्रकरणमा जोडिएका छन्।
यसअघि लिचिबारी घुस प्रकरणमै मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि अधिकारीले भने पद त्याग गरेका छैनन्।
“एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहैको स्थितिमा भूमि विधेयक फास्टट्र्याकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शङ्का उब्जाएको छ,” डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, “यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न। नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन।”
नेता कोइरालाले भूमि विधेयकमा गहन छलफल गर्नुपर्ने माग गर्दै पोखरा जग्गा (लिचीबारी) प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन्।