कुलिङ पिरियडमा एमालेले हाल्यो चारो, शेखरको ततायो पारो

आइतबार, साउन ४, २०८२

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले)को कुलिङ पिरियड हटाउने प्रस्ताव आपत्तिजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एमालेको दोहोरो चरित्र जनता, लोकतन्त्र र गठबन्धनलाई धोका भएको टिप्पणी गरेका हुन् । 

“नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो,” उनले भनेका छन् । 

कोइरालाले एमालेको संशोधन पास हुन दिन नहुने मत राखेका छन् । “नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ,” उनले भनेका छन् । 

एमालेले राष्ट्रियसभामा कुलिङ पिरियडको प्रावधान हटाउने संशोधन प्रस्ताव दर्ता गराएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्