विद्यादेवी राजनीतिमा आउँदा बाबुरामलाई आपत्

शनिबार, साउन ३, २०८२

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्कनु ‘जनताको बहुदलीय जनवाद’को मर्मविपरीत भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै डा भट्टरारीले जबजको रक्षाका निम्ति पार्टीमा फर्कन लागेको भण्डारीको भनाइ आफैँमा जबज विरोधी भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्, ‘जबजको रक्षानिम्ति पुरानो पार्टीमा फर्कन लागेको’ भन्ने पूर्वराष्ट्रपतिको मिडियामा आएको भनाइ सत्य हो भने त त्यो आफैमा ’जबज’को स्पिरिट विरोधी कुरा हुन्छ ।’ उनले यसले एमालेको मात्र नभइ समग्र कम्युनिस्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय बढाउने दावी गरेका छन् ।

पूर्वराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा फर्कँदा माओवादी रूपान्तरणमा योगदान भन्दा नोक्सान गर्ने पनि उनले बताएका छन् । राष्ट्रपति र पूर्वराष्ट्रपतिको पार्टीमा औचारक आबद्धता र क्रियाशिलताले सम्बन्धित पार्टीभित्र बहस र विवाद सिर्जना हुन गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय रहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘यो मुद्दा अब सम्बन्धित पार्टी र तीभित्रका गुट–उपगुटहरूको लाभहानी र चासोको विषय मात्र नरहेर देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म, हाम्रो शासकीय प्रणालीको चरित्र र नेपालका ’कम्युनिष्ट’ पार्टीहरूको वैचारिक–राजनीतिक प्रतिबद्धतासंग समेत जोडिएको सार्वजनिक महत्वको विषय बन्न पुगेको छ ।’

उनले राष्ट्रपति र उपराष्ट्रपति मातृ पार्टीमा कृयाशील हुन पाउने नपाउने विषयमा संविधानले केही नभनेका कारण यसलाई कानूनीभन्दा नैतिक, राजनीतिक र राष्ट्रिय हितको विषय भएको बताएका छन् ।

उनले यस सन्दर्भमा भारतका राष्ट्रपतिहरूको उदाहरण समेत प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘भारतका पहिलो राष्ट्रपति डा. राजेन्द्रप्रसाद स्वतन्त्रता आन्दोलनको बेला नेहरू, पटेल आदिकै हाराहारीका भारतीय कांग्रेसका बरिष्ठ नेता र ठूला विद्वान थिए तर अवकास पछि कुनै दलीय राजनीतिमा लागेनन्। पछिल्लो चरणका कांग्रेसका बरिष्ठ नेता प्रणव मूखर्जी पनि पार्टीमा फर्किएनन्। संसारभर यस्ता थुप्रै उदाहरणहरू छन् ।’

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्