सोसल मिडिया
युनिकोड
नेकपा एमालेको सचिवालय बैठकले १०औँ महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ । बिहीबार राति अबेरसम्म चलेको बैठकले दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको हो ।
यो सँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी पुर्वराष्ट्रपति विद्या भण्डारी आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छन् । उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्नबाट रोकिने भएका छन् ।
स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलगायत पनि प्रतिनिधि बन्न पाउने छैनन् । केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
त्यस्तै, बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको छ । केन्द्रीय कमिटीको आकार भने २५१ सदस्यीय हुने ज्ञवालीले बताए । उपाध्यक्ष विष्ण पौडेलले प्रस्ताव गरेको विधान संशोधनमा ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो । सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।
केन्द्रीय कमिटीभित्र पोलिटब्युरो र स्थायी कमिटी रहने सचिवालयको प्रबन्ध हटाएर स्थायी कमिटीमात्रै रहने प्रबन्ध गरिएको उपमहासचिव ज्ञवालीले बताए । यससँगै अब एमालेमा दुई खालका सदस्य रहने भएका छन् । एमालेको पोलिटब्युरो बैठक आज दिउँसो बजे बस्दैछ । आजको बैठकले विधान प्रस्ताव अनुमोदन गर्दैछ ।