बिचौलियाले मालपोत अधिकृत फेर्न गुहारेको भूमि मन्त्री बलरामले नै स्वीकारे 

बिहीबार, साउन १, २०८२

मालपोत कार्यालय, कास्कीका अधिकृतलाई सरुवा गर्न विचौलिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्म पुगेको पाइएको छ ।विभागीय मन्त्री बलराम अधिकारी आफैँले उक्त कुरा खुलाएका हुन् । तर, आफूले विचौलियाको मागलाई अस्वीकार गरेको उनले दाबी गरे ।

३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ता र विचौलियाबीचको ७८ लाख घुसको ‘डिल’ अडिओ वार्तामा अधिकारीलेसमेत पैसा खाएको सुनिन्छ ।

पत्रकार भेटघाटमा बिहीबार अधिकारीले भने, “कास्कीका मालपोत अधिकृतलाई फिर्ता गराउन केही व्यक्ति मन्त्रालयमा आएका थिए । मैले हुन्न भनेसी केही व्यक्तिको अभिष्ट पूरा नभएसी यी कुरा बाहिर आएको हो । मालपोत अधिकृतको सरुवा पुसमै भएको हो । अहिले अडिओ आएको छ । नियत के हो ?”

यस विषयलाई लिएर आफ्नो परिवारका सदस्यको समेत चरित्रहत्या गरिएको उनको भनाइ छ । “मेरो छोरालाई जोड्ने काम भयो, चरित्रहत्या गरियो,” अधिकारीले भने ।

सरुवा भएर गएका अधिकृतबाट कुनै गुनासो नआएको उनले बताए । मालपोतको अधिकृत सरुवा प्रक्रिया नियमित भएको अधिकारी बताउँछन् । साथै, उनले भने, “अडिओमा संलग्न व्यक्ति म वा मेरो मन्त्रालयका व्यक्तिसँग सम्बन्ध छ छैन पुष्टि गर्नुस् ।” 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्