सोसल मिडिया
युनिकोड
सरकारको कार्यशैलीमा सुधार गर्ने कांग्रेस र एमालेको प्रतिबद्धतापछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पुनर्विचार गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको पहलमा सोमबार बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेस र एमालेका नेताहरूले सरकारको कामप्रति गम्भीर समीक्षा गरी सुधार गर्ने प्रतिबद्धता जनाएपछि जसपा तत्कालका लागि समर्थन फिर्ता नलिने निष्कर्षमा पुगेको हो ।
दुई दलले प्रतिबद्धताअनुसार सरकारको कार्यशैली सुधारका लागि ल्याउने ठोस प्रस्तावपछि मात्र समर्थन फिर्ताको निर्णयमाथि पुनर्विचार गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवको सर्त छ । ‘उहाँहरूले निर्मम समीक्षा गरेर त्रुटिहरू सच्याउने र सरकारले कार्यशैली सुधारेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । हामीले केही दिनमै त्यसका लागि ठोस प्रस्ताव आओस्, त्यसपछि बसेर छलफल गरेर समर्थन फिर्ताबारे पुनर्विचार गर्छौँ भनेका छौँ,’ बैठकपछि जसपा नेता राजकिशोर यादवले भने ।
बैठक सुरु भएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठुला दल सम्मिलित अहिलेको गठबन्धन २०८४ सम्मकै लागि बनेकाले समर्थन फिर्ता लिएर सहकार्य नतोड्न अध्यक्ष उपेन्द्र यादवको ध्यानाकर्षण गराएका थिए । उपेन्द्र पनि एउटा मन्त्रालय लिएर सरकारमा जाने भएका छन्। जसपा नेपाल विभाजनपछि बनेको जसपाले अहिले ओली सरकारमा दुई मन्त्रालय पाएको छ। अशोक राईको पार्टीले पाएको एउटा मन्त्रालय उपेन्द्रलाई दिन ओली-देउवा बीच कुरो मिलेको र उपेन्द्र पनि राजी भएको श्रोतको भनाई छ।