प्राकृतिक प्रकोपबाट हुने क्षतिका विषयमा चीन सरकारसँग समन्वय गर्नुपर्ने उर्जा मन्त्रीको ठहर

बिहीबार, असार २६, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राखेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य आवश्यक रहेको बताएका हुन् ।

“पानी परेको देखिँदैन, ताल फुटेको देखिँदैन तर रसुवाको भोटेकोशीमा एक्कासी ठूलो बाढी आएको छ, मौसम विभागमा ‘साइरन सिस्टम’ जडान भएको भए समयमै सूचना थाहा पाउन र क्षति न्यूनीकरण गर्न सकिन्थ्यो,” उनले भने । मन्त्रालयमा डाटा र प्रविधि आवश्यक रहेको कुरा बेलाबेलामा हुने गरेपनि डाटा नहुँदा समस्या भएको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले नेपालमा रहेका हिमतालको संरक्षणलाई सरकारले प्राथमिकता दिएको बताए । चीनमा भएका हिमताल फुट्दा नेपालमा जोखिम बढ्नसक्ने भएकाले चीनसँग समन्वयको खाँचो रहेको उनको भनाइ थियो ।

“सरकासँग स्रोतको कमी छ, हामी सबैलाई पूर्वसूचना चाहिएको छ, हामीले निर्माण गर्ने जलविद्युत्देखि सिँचाइका नहरमा सम्बन्धित कार्यालयले नै पूर्वसूचना केन्द्र जडान गर्नसके क्षति न्यूनीकरणमा सहयोग पुग्थ्यो,” उनले भने । उनले विपद् सधै आउने भएकाले त्यसको पूर्वतयारीका लागि मन्त्रालयस्तरबाट एउटा समिति बनाएर अगाडि बढ्न निर्देशनसमेत दिए ।

मन्त्री खड्काले बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि चाहिने आवश्यक सामग्री भन्सार छुटमा खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल गरिने उल्लेख गरे । उनले देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले मन्त्रालयभित्रको विपद्को कामलाई एकीकृत ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताए । उनले विपद्जन्य घटनाको पूर्वसूचनाका लागि हिमाली र पहाडी क्षेत्रमा ‘स्टेशन’ थप्न जरुरी रहेको उल्लेख गरे ।

जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले विपद् न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताए । हिमनदीमा हुने बाढीबारे पूर्वसूचनाका लागि चीनको जल तथा मौसम विज्ञानसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य सहभागी छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले रसुवागढी, चिलिमे, त्रिशुली थ्री बीलगायतका जलविद्युत् केन्द्र र सवस्टेशनमा बाढीले ठूलो क्षति पुगेको जानकारी गराए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ बारे जानकारी गराउँदै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

उनले विपद्बारे समयमै पूर्वसूचना उपलब्ध गराउन सकिए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरे । सहसचिव आचार्यले मौसम पूर्वानुमान महाशाखाको, सुरक्षा निकाय तथा गृह मन्त्रालयको सूचना, माथिल्लो क्षेत्रका जनता, स्थानीय तहको सूचनालाई पच्छाउन सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताए । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्