सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिइसकेको छ । कार्यकारिणी समितिको बैठकले निर्देशन दिएपछि जसपा नेपाल संसदीय दलको ३/४ वटा बैठक बसिकेको छ । तर, संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न सकेको छैन ।
जसपा नेपालको प्रवक्ता मनिष सुमन वर्तमान सरकारको औचित्यता सकिएको र संविधान संशोधनको एजेण्डाले पनि प्राथमिकता नपाएको कारण आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न बाध्य भएको बताउँछन् । समर्थन फिर्ता लिने भन्दै बुधबार बसेको संसदीय दलको बैठकले पनि निर्णय गर्न सकेन् ।
जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बैठक बसेको र तर निर्णय भने गर्न नसकिएको बताईन् । नेतृ यादवका अनुसार अब २८÷२९ गते बैठक बसेर निर्णय लिइने बताईन् । ‘आज संसदीय दलको बैठक बसेको थियो । केही निर्णय भने भएको छैन । सरकारलाई दिइएको समर्थन फिर्ता लिन आज सबै सदस्यहरु आउनुभएको थिएन,’– उनले भनिन् ।
यता जसपा नेपालले समर्थन फिर्ता लिने भनेर सत्ताको बार्गेनिङ गरिरहेको पनि चर्चा हुन थालेको छ । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिइसकेको छ । जसपा नेपालले भने सरकारलाई दिएको सर्थन फिर्ता लिन आनाकानी गरिरहेको छ । स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैंले सत्तामा सहभागी हुन बार्गेनिङ गरिरकेका छन् ।
कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महिना दिन हुन लाग्दा पनि आफैं संसदीय दलको नेता रहेका उपेन्द्रले संसदीय दलबाट समर्थन फिर्ताको निर्णय गर्न नसक्नुले यसलाई पुष्टि गर्छ ।