उपसचिवका संयोजक श्रीमानले ‘कुलिङ पिरियड’को किर्ते केलाउन यसरी थाले काम

बुधबार, असार २५, २०८२

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा थपिएको ‘कुलिङ पिरियड’को लफडा केलाउन गठित अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ ।

असार २५ गते सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरु गरेको र आजको बैठकले अन्तिम रूप दिएको जानकारी दिए । 

अब पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार सात सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । 

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद जीवन परियार छन् । संसद्को नियमावली, २०७५ को नियम १८ बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुईजना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एकजना सदस्य छन् । परियार नेपाल सरकारको उपसचिव सीता परियारका श्रीमान् हुन्। उनी दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हुने नेपालकै पहिलो महिला हुन्।

नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्